काठमाडौं । साफ महिला च्याम्पियनसिपको सातौं संस्करण आज विहीबारदेखि दशरथ रंगशाला, काठमाडौंमा सुरु हुँदैछ । उद्घाटन खेलमा कीर्तिमान पाँचपल्टको च्याम्पियन भारत र पाकिस्तान भिड्दैछन् ।
दक्षिण एसियाली फुटबलको महारथी भारतले साफ महिलाका सुरुका पाँच संस्करणको उपाधि जितेको थियो । उसले सन् २०१० (कक्सबजार, बंगलादेश), २०१२ (कोलम्बो, श्रीलंका), २०१४ (इस्लामावाद, पाकिस्तान), २०१६ सिलीगुढी, भारत) र २०१९ (विराटनगर, नेपाल) मा ट्रफी चुमेको थियो ।
भारत दुई वर्षअघि दशरथ रंगशालामा भएको छैटौं संस्करणमा भने सेमिफाइनलबाटै बाहिरिएको थियो । उसलाई नेपालले रश्मिकुमारी घिसिङको गोलमा १–० ले हराएको थियो । त्यसैले असलतादेवीको कप्तानीमा रहेको भारत सुधारिएको प्रदर्शन गर्दै फेरि च्याम्पियन बन्न चाहान्छ । च्याम्पियन बन्ने योजनामै भारतले युरोपेली क्लबमा आबद्ध खेलाडीलाई पनि यसपालि काठमाडौं ल्याएको छ ।
ठ्याक्कै फरक छ साफमा पाकिस्तानको प्रदर्शन । उसले १४ वर्षअघि सेमिफाइनल यात्रा गरेको थियो, त्यसयता समूह चरण पार गर्न पनि सकेको छैन । यसपालि पनि पाकिस्तान डिफेन्डिङ च्याम्पियन बंगलादेश र भारत रहेको समूहमा परेको छ । त्यसैले पाकिस्तानलाई नकआउट चरण प्रवेश गर्न सजिलो छैन र त्यसको संकेत भारतविरुद्धको खेलले दिनसक्छ ।
छैटौं साफ २०२२ को समूह चरणमा पनि चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानको भेट समूह चरणमै भएको थियो, जसमा भारतले ३–० को जित निकालेको थियो । अमेरिकामा जन्मिएकी मारिया खान र बेलायतबाट आएकी नादिया खानलाई समेटेको पाकिस्तानले प्रदर्शनमा सुधार गर्ने अपेक्षा गरिएको थियो ।
नेपालले लगातार तेस्रोपल्ट आयोजना गरेको साफ महिला च्याम्पियनसिपको सातौं संस्करणमा दक्षिण एसियाका सातै देश सहभागि छन् । बंगलादेश, भारत र पाकिस्तान समूह ‘ए’ मा छन् भने आयोजक नेपाल, भुटिान, श्रीलंका र माल्दिभ्स समूह ‘बी’ मा छन् । समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान पाउनेछन् । फाइनल कार्तिक १४ गते हुनेछ ।