काठमाडौं। न्युजिल्यान्डका म्याट हेनरी (५) र विलियम ओरोर्के (४) ले उत्कृष्ट बलिङ गरेपछि भारत पहिलो टेस्टको पहिलो इनिङ्समा ४६ रनमा अलआउट भएको छ।
बेंग्लोरको एम चिन्नास्वामी स्टेडियममा वर्षाले प्रभावित टेस्ट म्याचमा विराट कोहली, सरफराज खान, केएल राहुल, रविन्द्र जडेजा र रविचन्द्रन अश्विनजस्ता खेलाडी शून्यमा आउट भए । रोहित शर्मा दुई रन बनाएर आउट भएए। यशस्वी जयसवालले १३ रन बनाए भने ऋषभ पन्तले सर्वाधिक २० रन बनाए।
न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टको दोस्रो दिन बिहीबार टस जितेर भारतले ब्याटिङ सुरु गरेको थियो। भारतका कप्तान रोहितले टसपछि पिच सुरुमा बलरका लागि सहयोगी साबित हुन सक्ने तर विकेटको प्रकृति हेर्दा आफ्नो टोली स्कोरबोर्डमा सकेसम्म धेरै रन बनाउन चाहेको बताएका थिए। त्यसैले उनले पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए।