काठमाडौं। फ्रान्सेली मिडफिल्डर पाउल पोग्बाले फुटबलमा फर्कन आतुर रहेको बताएका छन्। डोपिङ प्रतिबन्ध चार वर्षबाट घटाएर १८ महिना बनाएपछि उनले उक्त प्रतिक्रिया दिएका हुन्।
सन् २०२३ को सेप्टेम्बरमा इटालीको नेसनल एन्टी डोपिङ एजेन्सी (नाडो इटालिया) ले टेस्टोस्टेरोनको स्तर बढाउने डिएचईएको परीक्षणमा पोजिटिभ देखिएपछि उनलाई अस्थायी रूपमा निलम्बन गरिएको थियो। तर, कोर्ट अफ आर्बिट्रेशन फर स्पोर्टले ३१ वर्षीय खेलाडीको प्रतिबन्ध फुकुवा गरेको गरेको थियो।
डिएचईएको इन्जेक्शन आफूले जानिबुझेर प्रयोग नगरेको भनदै उनले अपिल गरेका थिए। प्रतिबन्ध छोटिएसँगै उनी मार्चमा युभेन्ट्सका लागि खेल्न योग्य हुनेछ। उनी युभेन्ट्स फर्किन तलब कटौती गर्न पनि इच्छुक छन्।
‘म सन् २०२५ मा सामान्य अवस्थामा फर्कन तयार छु। मेरो एउटै इच्छा छ, फुटबल खेल्ने। वास्तविकता के हो भने म युभेन्ट्सको खेलाडी हुँ र युभेन्टसका लागि खेल्ने तयारीमा छु, उनले भने, ‘मलाई बोल्नु पर्दैन, मेरो प्रदर्शन बोल्छ। (प्रशिक्षक) थियागो मोट्टाले आफ्नै आँखाले न्याय गर्नेछन्। म फेरि युभेन्ट्सका लागि खेल्नका लागि तलब कटौती गर्न तयार छु।’
उनी र युभेन्ट्सबीच सन् २०२६ को जुनसम्म सम्झौता छ। युभेन्ट्सका लागि अन्तिम पटक उनले एक वर्षअघि एम्पोलीमा खेलेका थिए। उक्त खेलमा युभेन्ट्स २–० ले विजयी भएको थियो। उनले प्रतिबन्ध लगाउनु आफ्नो करियरको सबैभन्दा कठिन क्षण भएको बताए।
‘यो एक धेरै कठिन वर्ष थियो। स्टेडियम बाहिर हरेक दिन बिताउनु सबैभन्दा ठूलो चोट थियो। धेरै पूर्व र वर्तमान टोलीका साथीहरूले मलाई समर्थन गरेका छन्। मैले यति धेरै आशा गरेको थिइनँ,’ उनले भने।
पोग्बाले सिरी ‘ए’ टोलीका लागि उत्कृष्ट प्रदर्शन गर्नुका साथै सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने विश्वकपअघि डिडिएर डेसच्याम्प्सको फ्रान्सेली टोलीमा पुनरागमन गर्न चाहेको बताए।
‘विश्वकपको सपना छ, तर डेसच्याम्प्सले कसैका लागि ढोका खोलेका छैनन्। तर, मैले स्थान बनाउने कि नबनाउने यो मैमा निर्भर छ,’ उनले भने।