काठमाडौं। अर्जेन्टिनी कप्तान लिओनल मेसीले आफ्नो १०औं अन्तर्राष्ट्रिय ह्याट्रिक पूरा गर्दै आफ्नो करियरको ११२ गोल पुर्याएका छन्।
अर्जेन्टिनालाई विश्वकप छनोटअन्तर्गत बुधबार बोलिभियामाथि ६–० को जित दिलाउँदा उनले आफ्नो करियरको १०औं ह्याट्रिक पूरा गरेका हुन्।
कोपा अमेरिकापछि दाहिने घुँडाको चोटबाट मुक्त हुने क्रममा उनले छनोटका केही खेल गुमाएका थिए। तर, बोलिभियाविरुद्ध १९औं मिनेटमा गोल गरेका मेसीले एस्टाडियो मोनुमेन्टलमा आफ्ना समर्थकसामु पूरै खेल खेले।
मेसीले ८४औं र ८६औं मिनेटमा गोल थपेका थिए। अन्तर्राष्ट्रिय खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले सर्वाधिक गोल गरेका छन्। उनको नाममा १३३ गोल छ। ३७ वर्षीय मेसी दोस्रो सर्वाधिक गोलकर्ता हुन्।