काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज पोखरा एभेन्जर्सले अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ। उनी एनपिएलमा आबद्ध हुने पहिलो विदेशी खेलाडी बनेका छन्।
एनपिएल १५ मंसिरबाट ६ पुससम्म हुँदैछ। त्यसका लागि पोखराले ३० वर्षीय खेलाडी अनुबन्ध गरेको जनाएको छ। दायाँ हाते ब्याटरले उमेर समूहमा दक्षिण अफ्रिकाको लागि खेलेका थिए।
उनले अमेरिकाबाट २० अन्तर्राष्ट्रिय खेलमा पाँच सय ९८ रन बनाएका छन्। अमेरिकाबाट तीन एकदिवसीय खेल्दा एक सय ५२ रन बनाएका छन्। सन् २०२४ मा क्यानाडाविरुद्ध डेब्यु गर्दै अमेरिकाको प्रतिनिधित्व गरेका थिए।
पोखरा एभन्जर्सका मालिक सुबोध त्रिपाठीले गौसलाई उच्च प्रदर्शनका लागि शुभकामना दिएका छन्। पहिलो पटक नेपालमा लिग खेल्न लागेका गौसले उत्साहित रहेको बताए।
यसअघि टोलीले इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किङ्सको प्रतिनिधित्व गरिसकेका राजिव कुमारलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। उनी चेन्नईका ब्याटिङ र फिल्डिङ प्रशिक्षक हुन्। पोखराको मार्कीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल छन्।