सिन्धुपाल्चोक। मेलचौर युवा जागरण समाजको अयोजनामा हुने चौथो संस्करणको मालिका देवी कप खुला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ।
चौतारा साँगाचोकगढी ७ मेलचौर दरबारडाँडा खेल मैदानमा हुने प्रतियोगिताको लागि तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले जानकारी दिए।
प्रतियोगिताका लागि कार्तिक ३ गतेसम्म टिम दर्ता खुला गरिएको छ। टिम दर्ता शुल्क पाँच हजार तोकिएको पनि श्रेष्ठले बताए। यस्तै, प्रतियोगितामा सहभागि हरेक टिमका खेलाडी तथा टिम अफिसियल गरि टिमका १६ जनाको बिमा पनि गरिएको छ। साथै, बिमावापत हरेक टिमले दर्तामा तोकिएको शुल्कमा १५०० सय थप्नु पर्ने छ।
प्रतियोगिताको विजेताले एक लाख ५५ हजार ५५५ तथा उपविजेताले ७७ हजार ७७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन्।
विजेताले पाउने पुरस्कार रकममा तेस्रो संस्करणको भन्दा ४४ हजार ४४४ रुपैयाँले बढेको छ। गत संस्करणको विजेता रोयल फ्यामिली चौताराले एक लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेको थियो।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्ट्राइकर, गोलकिपर, रक्षक, मिडफिल्डर, प्रशिक्षक र प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ लाई ट्रफीसहित नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। साथै, फेयर प्ले अवार्ड पनि प्रदान गरिने छ।