काठमाडौं। भारतका पूर्वबलिङ प्रशिक्षक पारस म्हाम्ब्रेले पाँच पटकको इन्डियन प्रिमियर लिग (आइपिएल) विजेता मुम्बई इन्डियन्समा पुनरागमन गरेका छन्।
गत जुनमा भारतले ट्वान्टी–२० विश्वकप जितेपछि भारतीय टोलीको बलिङ प्रशिक्षकका रूपमा उनको कार्यकाल समाप्त भएको थियो।
मुम्बई इन्डियन्सका अनुसार ५२ वर्षीय म्हाम्ब्रेले बलिङ प्रशिक्षक लसिथ मालिंगा र मुख्य प्रशिक्षक माहेला जयवर्धनेसँग काम गर्नेछन्। जयवर्धने दुई वर्षको अन्तरालपछि मुम्बई इन्डियन्समा पुनः अनुबन्धित भएका छन्। सन् २०१३ मा आइपिएल र सन् २०११ र २०१३ मा च्याम्पियन्स लिग ट्वान्टी–२० को उपाधि जित्दा मुम्बई इन्डियन्सका लागि काम गरिसकेका छन्।
मुम्बई इन्डियन्सले सन् २०१७ देखि २०२२ को बीचमा तीन पटक उपाधि जितेका जयवर्धनेलाई पुनः मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।