काठमाडौं। चोटपटकका कारण गत सिजन युरोपका प्रमुख लिगका टोलीले करिब ८० करोड अमेरिकी डलर खर्च गरेका छन्।
खेलाडीलाई कति खेल खेल्न दिने भन्नेबारे बहस भइरहेको बेला पुरुष युरोपियन फुटबल इन्जुरी इन्डेक्सले सन् २०२३–२४ मा इङ्ल्यान्ड, स्पेन, जर्मनी, इटाली र फ्रान्सका शीर्ष डिभिजनमा चार हजार १२३ जना घाइते भएको देखाएको हो।
रिपोर्टले अर्को वर्ष अमेरिकामा आयोजना हुने नयाँ विस्तारित क्लब विश्वकपको परिणामस्वरूप क्लबहरूमा थप तनावलाई उजागर गरेको छ। सन् २०२१ मा पहिलो पटक सूचकांक प्रकाशित भएयता चोटपटकको संख्या वर्षैपिच्छे बढ्दै गएको छ। पछिल्लो प्रतिवेदनमा भनिएको छ, 'सन् २०२५ मा नयाँ फिफा मेन्स क्लब विश्वकपको आसन्न सुरुआतसँगै टोलीको गहिराइको परीक्षण जारी रहनेछ।'
यो सूचकांक खेल बीमा कम्पनी हाउडेनले तयार पारेको हो। गत वर्ष नयाँ विस्तारित फर्म्याटमा घोषणा गरिएयता ३२ टोलीसम्मेलित क्लब विश्वकपले खेलाडीको हितलाई लिएर चिन्ता व्यक्त गर्दै आएको छ।
गत महिना म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले यस वर्ष विस्तारित च्याम्पियन्स लिगलगायत खेलाडीको बढ्दो मागका कारण खेलाडीहरू हडतालमा जान लागेको बताएका थिए। उक्त टिप्पणीको केही दिनपछि स्पेनका अन्तर्राष्ट्रिय खेलाडीको घुँडामा चोट लागेको थियो। विस्तारित क्लब विश्वकप र च्याम्पियन्स लिगअघि नै फुटबल इन्डेक्सले चोटपटकको वृद्धिलाई ट्र्याक गरेको छ।
औसतमा प्रत्येक ९२ मिनेटमा एक खेलाडीलाई चोट लागेको देखिएको छ। यसले जर्मनीमा प्रतिखेल (१.७२) सबैभन्दा बढी चोट लाग्ने गरेको पत्ता उल्लेख छ। चोटका कारण सबैभन्दा कम प्रभावित टोलीमध्ये शीर्ष चारमा फ्रेन्च लिगका थिए।
प्रतिवेदनमा २१ वर्षभन्दा कम उमेरका खेलाडीलाई चिन्ताजनक प्रवृत्ति देखिएको र उनीहरु गम्भीर घाइते भएको उल्लेख गरिएको छ।