काठमाडौं। राफिन्हाले दुवै हाफमा पेनाल्टीमा गोल गरेपछि ब्राजिल दक्षिण अमेरिकी विश्वकप छनोटको ‘ट्रयाक’ मा फर्किएको छ।
गत साता चिलीमा २–१ को पुनरागमन जित निकालेको ब्राजिल सुरुदेखि नै जीवन्त देखिएको थियो। आन्द्रेस परेरा र लुइज हेनरिकले गोल थपेपछि पेरुमाथि ब्राजिल बुधबार बिहान भएको खेलमा ४–० को प्रभावशाली जित दर्ता गर्न सफल भयो।
बिहीबार चिलीमा जित निकाल्नुअघि पाँचमध्ये चारमा हार बेहोरेको ब्राजिल १० खेलबाट १६ अंकका साथ तालिकाको चौथो स्थानमा छ। यद्यपि, ब्राजिल गोलअन्तरका आधारमा तेस्रो स्थानमा रहेको उरुग्वेभन्दा पछि छ।
राफिन्हाले ब्राजिलियन टेलिभिजन ग्लोबोसँग भने, ‘मलाई लाग्छ हामीलाई यो आवश्यक थियो, ट्रयाकमा फर्कन दुवै खेल जित्नु महत्त्वपूर्ण थियो। यी दुई खेल थिए जसलाई हामीले नियन्त्रण गर्न सफल भयौं। मलाई विश्वास छ कि हामी सही बाटोमा छौं।’
२४औं मिनेटमा पेरुका डिफेन्डर कार्लोस जाम्ब्रानो पेनाल्टी बक्समा ह्यान्ड गर्न पुगे। प्राप्त पेनाल्टीमा राफिन्हाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए।
५४ औं मिनेटमा जाम्ब्रानोले साभिनहोलाई पेनाल्टी बक्सभित्र फाउल गरे। त्यसमा प्राप्त पेनाल्टीलाई बार्सिलोनाका फरवार्डले गोलमा परिणत गर्दै अग्रता दोब्बर बनाए।
७२औं मिनेटम हेनरिकको क्रसमा सब्स्टिच्युट परेराले गोल गर्दै ब्राजिललाई अग्रता ३–० मा पुर्याए। त्यसको दुई मिनेटपछि हेनरिक आफैंले अर्को गोल गर्दै ब्राजिललाई सहज जित दिलाए।
दक्षिण अमेरिकी विश्वकप छनोटमा बोलिभियालाई ६–० ले पराजित गर्दै २२ अंकका साथ शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले कोलम्बियासँग तीन अंकको दूरी कायम गरेको छ। तेस्रो स्थानको उरुग्वेको १६ अंक हुँदा पाँचौं स्थानमा रहेको इक्वेडरसँग तीन अंक कम छ। पराग्वेसँग पनि १३ अंक रहँदा एक अंक कम रहेको बोलिभिया सातौं स्थानमा छ।
भेनेजुएलाको ११, पेरुको ६ र चिलीको पाँच अंक छ। शीर्ष ६ टोलीले सन् २०२६ मा उत्तर अमेरिकामा हुने विश्वकपमा स्थान पक्का गर्नेछन्। सातौं स्थानमा रहने टोलीले अन्तरमहादेशीय प्ले–अफ खेल्नेछ।