काठमाडौं। ग्यारेथ साउथगेटको उत्तराधिकारी थोमस टुचेल बन्ने लागेको बेलायती सञ्चारमाध्यमले जनाएका छन्।
च्याम्पियन्स लिग विजेता प्रशिक्षक टुचेल गत सिजनको अन्त्यमा बायर्न म्युनिख छाडेपछि कामविहीन छन्। बिबिसी र अन्य बेलायती सञ्चारमाध्यमले मंगलबार दिएको जानकारीअनुसार उनी स्वेन गोरान एरिक्सन र फाबियो कापेलोपछि तेस्रो गैर–इङ्लिस प्रशिक्षक बन्न राजी भएका हुन्।
स्काई स्पोर्ट्सले जर्मनीका प्रशिक्षक १८ महिनाको सम्झौता गर्न सहमत भएको जनाएको छ। यद्यपि, इङ्लिस फुटबल संघले यसको घोषणा गर्न बाँकी नै छ।
बायर्नमा टुचेलको नेतृत्वमा काम गरेका इङ्ल्यान्डका कप्तान ह्यारी केनले स्काई स्पोर्ट्ससँग भने, ‘जबसम्म यो घोषणा हुँदैन तबसम्म म वास्तवमा टिप्पणी गर्न सक्दिनँ। हामीले पर्खनु र हेर्नुपर्छ। पक्कै पनि म थोमसलाई गत वर्षबाट राम्रोसँग चिन्दछु। उनी शानदार कोच हुन्।’
सन् २०२१ को च्याम्पियन्स लिग फाइनलमा पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीलाई पाखा लगाउँदै उनले चेल्सीलाई उपाधि दिलाएका थिए। उनले प्रिमियर लिग क्लबबाट युइएफए सुपर कप र क्लब विश्वकप पनि जितेका छन्।
टुचेलले पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट दुई पटक फ्रेन्च लिग र बायर्नबाट जर्मन लिगको उपाधि जितेका छन्। युरो कप २०२४ को फाइनलमा पराजित भएपछि साउथगेटले इङ्ल्यान्डको प्रशिक्षकबाट राजीनामा दिएका थिए। उनले देशलाई लगातार युरो कप फाइनलका साथै २०१८ को विश्वकपको सेमिफाइनलसम्म पुर्याएका थिए।
इङ्ल्यान्डको यू–२१ टोलीका प्रशिक्षक ली कार्स्लेले साउथगेटको स्थानमा अस्थायी रूपमा जिम्मेवारी सम्हाल्ने दाबेदारका रूपमा हेरिएको थियो। कार्स्लेले गत साता इङ्ल्यान्ड विश्वस्तरीय प्रशिक्षकको हकदार भएको बताएका थिए। टुचेलले युरोपका केही ठूला टोलीहरू हेरेका छन्। उनले इङ्लिस फुटबल संघद्वारा निर्धारित मापदण्डहरू पनि पूरा गरेका छन्।