काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीकी स्टार स्ट्रइकर सावित्रा भण्डारी ‘साम्बा’ साफ महिला च्याम्पियनसिप २०२४ को लागि फ्रान्सबाट आइतबारमात्रै स्वदेश फर्किने भएकी छन्। युएईको अबुधावी कन्ट्री क्लबमा आबद्ध स्ट्रइकर रेखा पौडेल भने स्वदेश फर्केर राष्ट्रिय टोलीमा फर्किसकेकी छन्।
फ्रान्सेली महिला फुटबलमा शीर्ष श्रेणीको लिग क्लब अभान्ट ग्वेन्ग्याम्पमा आबद्ध सम्बाबारे अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले भने, ‘एन्फाले अनुरोध गरे पनि साम्बालाई क्लबले लिगमा महत्त्वपूर्ण खेलका लागि अत्यावश्यक रहेको भन्दै छाड्न मानेन। त्यसैले उनी साफमा नेपालको पहिलो खेलमा उपलब्ध हुने छैनन्। उनी २० अक्टोबर (आइतबार) स्वदेश फर्किदैछन् र साफमा दोस्रो खेलदेखि नेपाली टोलीमा हुनेछिन्।’
अन्तर्राष्ट्रिय फुटबलमा सर्बाधिक गोलको कीर्तिमान बनाएकी साम्बा गत वर्ष फ्रान्सेली क्लबमा आबद्ध भएकी थिइन्। उनलाई यो साफको पहिलो खेल फिफाको अन्तर्राष्ट्रिय खेलको लागि छुट्याएको अवधि (फिफा विन्डो) मा नरहेकोले पनि क्लबले छाड्न अस्वीकार गरेको हो। फिफा विन्डोमा खेल नहुँदा क्लब ड्युटीमा फर्किनपरेपछि साम्बाले गत फेब्रुअरीमा साउदी अरबमा भएको वाफ च्याम्पियनसिपको फाइनल पनि गुमाएकी थिइन्।
ग्वेइन्ग्याम्पले १२ क्लब सहभागि लिगमा यो सिजनका सुरुआती चारै खेल हार बेहोरेको छ र अंकविहीन अवस्थामा पुछारमा छ। ग्वेइन्ग्याम्पले अर्को जितविहीन टोली स्ट्रसबर्गविरुद्ध शनिबार प्रतिस्पर्धा गर्दैछ।
सातौं साफ महिला च्याम्पियनसिप २०२४ बिहीबार दशरथ रंगशालामा सुरु हुँदैछ। नेपालले पहिलो खेलमा शुक्रबार भुटानविरुद्ध प्रतिस्पर्धा गर्नेछ, जसमा साम्बा हुने छैनन्। साम्बाको अनुपस्थितिमा मुख्य प्रशिक्षक राजेन्द्र तामाङले रश्मिकुमारी घिसिङ र रेखालाई अग्रपंक्तिमा उतार्न सक्छन्। नेपालले समूहचरणमा माल्दिभ्सविरुद्ध ५ कार्तिक र श्रीलंकाविरुद्ध ८ कार्तिकमा खेल्नेछ।