काठमाडौं। क्रोएसियाले नेसन्स लिगको रोमाञ्चक खेलमा पहिलो हाफको २६ मिनेटमा तीन गोल गरेको थियो। तर, लिग ‘ए’ को समूह १ मा रहेको पोल्यान्डसँग ३–३ गोलको बराबरीमा रोकिएको छ।
पोल्यान्डका लागि पियोट्र जिलिन्स्कीले पाँच मिनेटमै गोल गर्दै पोल्यान्डलाई अग्रता दिलाएका थिए। तर, उक्त अग्रता धेरैबेर कायम रहन सकेन। १९औं मिनेटमा बोर्ना सोसा, २४औं मिनेटमा पेटार सुसिच र २६औं मिनेटमा मार्टिन बटुरिनाले गोल गर्दै क्रोएसियालाई ३–१ को स्थितिमा पुर्याएका थिए। पहिलो हाफको अन्त्यतिर निकोला जालेवस्कीले गोल गर्दै पोल्यान्डलाई ३–२ को स्थितिमा ल्याए। ६८औं मिनेटमा सेबास्टियन सिमान्स्कीले बराबरी गोल फर्काए।
७६औं मिनेटमा पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई पेनाल्टी क्षेत्रबाहिर फाउल गरेपछि क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिच मैदानबाट बाहिरिए। लिभाकोभिचले बललाई क्लियर किक गरे पनि फलो–थ्रूको क्रममा लेवान्डोस्कीलाई घुँडाको ठीक तल खुट्टामा प्रहार गरेका थिए।
समूहको दोस्रो स्थानमा रहेको क्रोएसियाको सात अंक छ। यो पोर्चुगलको भन्दा तीन अंक कम हो। पोल्यान्ड ४ अंकका साथ तेस्रो स्थानमा छ, जुन स्कटल्यान्डभन्दा ३ अंकले बढी हो।