काठमाडौं। अल्भारो मोराटाले पेनाल्टीमा गोल गर्न चुकेपनि डिफेन्डिङ च्याम्पियन स्पेनले सर्बियालाई ३–० ले पराजित गर्दै नेसन्स लिगको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।
कोर्डोबास्थित नुएभो आर्कान्जेल स्टेडियममा भएको खेलमा ५४औं मिनेटमा स्पेनले पेनाल्टी पाएको थियो। तर, मोराटाको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो। तर, उनले नै ६५औं मिनेटमा फाबियन रुइजको क्रसमा स्पेनका लागि दोस्रो गोल गरेका थिए।
मोराटाले भने,‘मैले पेनाल्टी मिस गरें। तर गोल गर्न सकें। हामी फेरि नकआउट चरणमा छौं। यो सजिलो देखिन्छ तर यो होइन, हामीले प्राप्त अवसरलाई सदुपयोग गर्न आवश्यक छ।’
सर्बियासँग ०–० गोलको बराबरी खेलेको डिफेन्डिङ च्याम्पियन स्पेनका लागि इमेरिक लापोर्टेले खेलको पाँच मिनेटमै गोलको खाता खोलेका थिए। ७७औं मिनेटमा एलेक्स बेनाले गोल गर्दै स्पेनलाई लगातार तेस्रो जित दिलाए।
स्पेन १० अंकका साथ लिग ‘ए’ समूह चारको शीर्ष स्थानमा छ, जुन डेनमार्कभन्दा तीन अंकले बढी हो। जसले अन्तिम स्थानको स्विट्जरल्यान्डसँग २–२ को बराबरी खेलेको थियो। स्पेनसँग बराबरी खेलेको सर्बियाले चार अंक जोडेको छ भने स्विट्जरल्यान्डमाथिको जित निकालेको छ।