काठमाडौं। चार खेलमा पहिलो अंक गुमाएको पोर्चुगलले नेसन्स लिगको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ। ग्लास्गोको ह्याम्पडेन पार्कमा मंगलबार रोबर्टो मार्टिनेजको टोलीले स्कटल्यान्डसँग गोलरहित बराबरी खेलेको हो।
पोल्यान्डसँग ३–३ को बराबरी खेलेको क्रोएसियाभन्दा तीन अंकले अगाडि रहेको पोर्चुगल १० अंकसहित समूह ‘ए’ को शीर्ष स्थानमा छ। स्कटल्यान्ड एक अंकका साथ पुछारमा छ। समूहको शीर्ष दुई स्थानमा रहेको पोल्यान्डको चार अंक छ।
पोर्चुगलले प्रतियोगिताको पहिलो तीन खेल जितेको थियो। तर, ग्लास्गोको ह्याम्पडेन पार्कमा स्कटल्यान्डविरुद्ध सफलता हासिल गर्न सकेन। १३३ अन्तर्राष्ट्रिय गोल गरेका कप्तान क्रिस्टियानो रोनाल्डोले केही राम्रा अवसर पाएका थिए। तर, सदुपयोग गर्न सकेनन्।
खेलको चार मिनेट बाँकी रहँदा कर्नर लिने अवसरबाट बञ्चित भएपछि रोनाल्डो आक्रोशित भएका थिए। खेल सकिएपछि उनी रेफ्रीसँग आक्रोशित देखिन्थे। व्यंग्यात्मक ताली बजाउँदै उनी मैदानबाट बाहिर निस्केका थिए।
यता, लगातार चार खेलमा हार बेहोरेको स्कटल्यान्ड ९ खेलमा जितविहीन थियो। मिडफिल्डर बर्नार्डो सिल्भाले भने, ‘आज राति पोर्चुगलका लागि धेरै कुरा छुटेको थियो। हामीमा तीव्रताको कमी थियो, सही समयमा आक्रमण गर्न सकेनौं। हामी निराश भएर यहाँबाट निस्केका छौं।’