काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपका खेल हेर्न दुईथरी टिकटदर तोकेको छ। एन्फा कम्प्लेक्समा मंगलबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता सुरेश शाहले उक्त जानकारी दिएका हुन्।
प्रतियोगिताको समूहचरणका खेलको टिकटदर साधारण पारापिटतर्फ ३०० र भिआइपीतर्फ ५०० रुपैयाँ तोकिएको छ। तर, नकआउट चरणमा भने साधारण पारापिटतर्फ बसेर खेल हेर्न ५०० र भिआइपीतर्फ १००० रुपैयाँ तिर्नुपर्ने छ।
प्रतियोगिता कार्तिक १ देखि १४ सम्म दशरथ रंगशालामा हुँदैछ। प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशगरी सात टिमले सहभागिता जनाउँदैछन्।
सहभागी टोलीमध्ये पाकिस्तान, माल्दिभ्स र बंगलादेश आइसकेका छन्। भारत र भुटान बुधबार बिहानसम्म काठमाडौं आइपुग्ने छन्।