काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएललाई लिएर पूर्व क्रिकेटर तथा व्यवसायी आमिर अख्तरले नेपाल क्रिकेट संघ क्यानलाई चेतावनी दिएका छन् ।
नेपाल प्रिमियर लिग एनपीएल कम्पनीको रुपमा आफ्नो नाममा दर्ता रहेको र सो सम्बन्धि सम्पुर्ण अधिकार आफ्नो हुने दाबी गर्दै आमिरले क्यानलाई आफ्नो सहमती बिना फ्रेन्चाईज प्रतियोगिता अघि नबढाउन चेतावनी दिएका हुन् ।
नेपाल प्रिमियर लिग एनपीएलको पहिलो संस्करण सन् २०१४ मा धनगढीमा सफलतापूर्वक सञ्चालन गरेको जानकारी गराउँदै उनले कम्पनी ऐन अनुसार क्यानले एनपीएल आफुसँग खोस्ने काम गरेको उनको आरोप छ ।
उनले एनपीएल आफ्नो स्वामित्व भएको अधिकार प्राप्त कम्पनी भएको र सोलाई नजरअन्दाज गर्दै क्यानले एनपीएल घोषणा गर्नु कानुन विपरित रहेको दाबी गरेका छन् । उनले एनपीएल भव्यतापूर्वक गर्नुपर्ने तर त्यसका लागि एनपीएलको सञ्चालकको रुपमा आफु र क्यानबीच आपसी सहमती तथा सम्झौता हुनुपर्ने सर्त अघि सारेका छन् ।
आमिरले आपसी सहमती र सम्झौता अनुसार एनपीएल क्यानमा नामसारी गरिदिने तर सहमती नभएको खण्डमा अदालत जाने चेतावनी दिएका छन् । उनले एनपीएललाई लिएर टिमका वनर, फ्रेन्चाईज र प्रायोजकलाई अन्यौल र भ्रममा नराख्न समेत अपिल गरेका छन् । उनले सहमती र सम्झौताका लागि क्यानलाई सात दिनको अल्टिमेटम समेत दिएका छन् ।
आमिरले नेपाल प्रिमियर लिगको नाममा सन् २०१४ मा फ्रेन्चाईज क्रिकेट आयोजना गरेका थिए । त्यसपछि एनपीएलको नाममा विवाद आएपछि एभरेस्ट प्रिमियर लिग ईपीएलको नामबाट उनले अन्तराष्ट्रिय स्तरको फ्रेन्चाईज क्रिकेट सञ्चालन गर्दै आएका थिए ।
क्यानले सबै अन्तराष्ट्रिय स्तरका फ्रेन्चाईज प्रतियोगिताको अनुमती खारेज गर्दै नेपाल प्रिमियर लिगको नामबाट आफ्नो आधिकारिक फ्रेन्चाईज प्रतियोगिता घोषणा गरेको छ । सोही अनुसार पहिलो संस्करणको प्रतियोगिताको आयोजनाको तयारी तिव्र गतिमा अघि बढेको छ ।