काठमाडौं । कोलो मुआनीको दुई गोलको सहयोगमा फ्रान्सले नेसन्स लिग फुटबलमा बेल्जियमलाई हराएको छ ।
लिग एको ग्रुप टूको सोमबारको खेलमा फ्रान्सले बेल्जियमलाई २–१ गोल अन्तरले हराएको हो ।
घरेलु टोली बेल्जियमले सुरुवातमा पेनाल्टीको अवसर खेल फाल्यो । कप्तान युरी टिलेम्यान्सले प्राप्त पेनाल्टीलाई पोस्टको बाहिर प्रहार गरेका थिए ।
मुआनीले ३५ औं मिनेटमा पेनाल्टीमार्फत फ्रान्सलाई सुरुवाती अग्रता दिलाए । डिबक्सभित्र भएको ह्यान्ड बलमा फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो, जसलाई मुआनीले खेर फालेनन् ।
लोईस ओपेन्डाले पहिलो हाफको इन्जुरी समयमा बराबरी गोल फर्काए ।
दोस्रो हाफको ६२ औं मिनेटमा मुआनीले ब्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई जित दिलाए ।
फ्रान्सले अन्तिम १४ मिनेट १० खेलाडीमा सिमित बनेर खेलेको थियो । कप्तान ओरेलियन चौआमेनीले दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएका थिए ।
अन्तिममा बेल्जियमले बराबरीको प्रयास गरेपनि सफल हुन सकेन । समूहकै अर्को खेलमा ईटालीले इजरेललाई ४–१ ले हराएको थियो ।
समूहमा ईटाली १० अंक सहित शीर्ष स्थानमा छ । एक अंक तल रहेको फ्रान्स दोस्रो र बेल्जियम तेस्रोमा छ ।