काठमाडौं । बार्सिलोनाका फरवार्ड लामिनी यामल ला लिगामा आईतबार सेभिल्लाविरुद्ध उत्रनेमा आशंका देखिएको छ । स्पेनका लागि अन्तराष्ट्रिय फुटबलमा फर्किएको समय यामललाई ह्यामस्ट्रिङले सताएको छ ।
आगामी हप्ता बार्सिलोनाकालागि निकै महत्वपुर्ण छ । ओलम्पिक स्टेडियममा बार्सिलोनाले सेभिल्लाविरुद्ध खेल्नेछ भने च्याम्पियन्स लिगमा बायर्न म्युनिखलाई आतिथ्यता प्रदान गर्नेछ । लगत्तै बार्सिलोनाले रियल मड्रिडसँग 'एल क्लासिको' खेल्ने तालिका छ ।
१७ वर्षका फरवार्डको तिघ्राको माशंपेशीमा चोट देखिएको छ । जब स्पेनले शनिबार डेनमार्कविरुद्ध १–० को जित निकाल्यो, सोही खेलमा यामलमा ह्यामस्ट्रिङको समस्या देखिएको हो । उनी लगत्तै बार्सिलोना फर्किए । उनले सोमबार अभ्यास मैदानमा जाँच समेत गरेका छन् ।
क्लबले समेत यसको पुष्टि गर्दै यामलमा ह्यामस्ट्रिङको चोट देखिएको र रिकभरी हुन लाग्ने समयले अभ्यासमा फर्कने विषय टुङ्गो लाग्ने बताएको छ ।
यामलले समेत आफु सेभिल्लाविरुद्ध उत्रने विषयमा जानकार नभएको बताएका छन् । उनी आफ्नो रिकभरीको विषयमा मात्र केन्द्रित भएको उल्लेख गरेका छन् ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार बार्सिलोना यामललाई लिएर अनावश्यक जोखिम लिन चाहदैन । अन्तराष्ट्रिय ब्रेक लगत्तै बार्सिलोनाले बायर्न म्युनिख र रियल मड्रिडविरुद्ध खेल्नुपर्नेछ ।
भिसेन्ट कोम्पनी अक्टोबर २३ मा बायर्न लिएर बार्सिलोनाको घरेलु मैदानमा निस्कदैछन्, त्यसको तीन दिनपछि बार्सिलोना 'एल क्लासिको' खेल्न मड्रिड शहर जानेछ । यामलले यस सिजन क्लब र देशका लागि १४ मध्य १३ खेलमा सुरुवातमा रहेर मैदान उएिका छन् । अर्को खेलमा बेन्चबाट मैदान छिरेका थिए ।
सेप्टेम्बरको अन्तिममा ओसासुनाविरुद्धको खेलमा बार्सिलोनाले हार ब्यहोरेको थियो ।
यामल हान्सी फ्लिक नेतृत्वको बार्सिलोनाका मुख्य हतियार हुन् । यस सिजन ९ मध्य ८ खेलमा जित निकालेर शीर्ष स्थानमा रहेको बार्सिलोनाका यामल मुख्य खेलाडी हुन् । उनले सबै प्रतियोगितामा ५ गोल गरेका छन् भने ५ गोलको अवसर सिर्जना गरेका छन् ।