काठमाडौं । ब्राजिली स्टार नेयमारको घुँडाको उपचारमा निकै सुधार देखिएको छ । उनी अर्को हप्ता मैदान फर्कन सक्ने बताईएको छ । उनी अक्टोबर २१ मा फिट भएर खेल्न सक्ने बताईएको हो ।
साउदी क्लब अल हिलालका स्टार पछिल्लो एक वर्षदेखि एसीएल जस्तो गम्भिर चोटका कारण मैदान बाहिर छन् र रिकभरीको प्रयासमा छन् । उनी ब्राजिलको राष्ट्रिय टिममा रहेको समय चोट बोकेका थिए ।
३२ वर्षका नेयमार अल हिलालमा सेप्टेम्बर २९ देखि प्रशिक्षणमा जोडिएका छन् । उनको रिकभरीलाई नजिकबाट क्लबले हेरिरहेको छ । उनी अक्टोबर २१ मा एसियन च्याम्पियन्स लिग खेलमा मैदान उत्रन सक्ने बताईएको हो ।
नेयमार मैदानमा फर्कने अन्तिम निर्णय अल हिलालका प्रशिक्षक जर्ज जिससले गर्नेछन् । त्यसअघि नेयमारले ब्राजिली डक्टर रोड्रिगो लामसारसँग अनुमती लिनुपर्नेछ, जसले नेयमारको सल्यक्रिया गरेका थिए । लामसार केही दिनमा साउदी उत्रने र नेयमारको फिटनेशको मुल्याङ्कन गर्ने बताईएको छ ।
नेयमार ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् । उनी सन् २०२३ को अगष्टमा साउदी प्रो लिगमा आबद्ध भएका थिए, फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनबाट । अल हिलालमा मात्र ५ खेल खेलेका नेयमारले गम्भिर चोट बोकेका थिए ।
ब्राजिली फुटबल महासंघले समेत नेयमारको रिकभरीलाई नजिकबाट हेरिरहेको छ । ब्राजिलले नोभेम्बरमा विश्वकप छनोट अन्तर्गत भेनेजोएला र उरुग्वेविरुद्ध हुने खेलमा नेयमार उत्रन विश्वास लिएको छ ।