काठमाडौं । महिला विश्वकप क्रिकेटमा भारतको सेमिफाइनल यात्रा कठिन मोडमा पुगेको छ । समूह चरणको खेलमा आईतबार अष्ट्रेलियासँग ९ रनले पराजित बनेपछि भारत सेमिफाइनल पुग्ने समिकरण निकै कठिन बनेको हो ।
सुरुवातमा ब्याटिङ गरेको अष्ट्रेलियाले ८ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो । ओपनर ग्रेस हेरिसले ४० रन बनाएको ईनिङ्समा ताहलिया मेकग्राथ र एलिसे पेरीले समान ३२ रन बनाएका थिए ।
जवाफी ब्याटिङमा आएको भारतले ९ विकेट गुमाएर १ सय ४२ रनमात्र बनाउन सक्यो । भारतका लागि कप्तान हरमनप्रीत कौरले अविजित ५२ रन बनाईन् । दीप्ति शर्माले २९ र शेफाली वर्माले २० रन बनाईन् । अन्य कुनै खेलाडीले छाप छाड्न सकेनन् ।
अब भारतीय टिमको सेमिफाइनल यात्रा नेट रनरेटका आधारमा हुने भएको छ । समूह एमा अष्ट्रेलिया सबै ४ खेलमा जित निकाल्दै सेमिफाइनल प्रवेश गरिसकेको छ । भारत ४ अंक सहित दोस्रो स्थानमा छ । जसको नेट रनरेट प्लस ० दशमलव ३२२ छ ।
चार अंक सहित न्युजिल्याण्ड तेस्रो नम्बरमा छ । उसको नेट रनरेट ० दशमलव २८२ छ । समूहको अन्तिम खेलमा न्युजिल्याण्ड र पाकिस्तान खेल्दैछन् । न्युजिल्याण्डले जितेको खण्डमा सिधै सेमिफाइनल पुग्नेछ । यसबाट भारत र पाकिस्तान बाहिर हुनेछन् ।
यदी पाकिस्तानले न्युजिल्याण्डलाई हराएको खण्डमा न्युजिल्याण्ड र भारतको अंक बराबरी हुनेछ र नेट रनरेटका आधारमा नतिजा निर्धारण हुनेछ । त्यस्तो अवस्थामा भारत अघि बढ्ने सम्भावना रहन्छ ।