काठमाडौं । पोखरा एभेन्जर्सले भारतीय पूर्व क्रिकेटर राजीव कुमारलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टोली पोखरा एभेन्जर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को क्लब चेन्नेई सुपर किंग्सका ब्याटिङ तथा फिल्डिङ प्रशिक्षक राजीवलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको हो ।
राजीवले भारतको ए टिमबाट सन् १९९८ को अष्ट्रेलियाविरुद्ध र सन् १९९९ मा नेदरल्याण्डविरुद्ध खेलेका थिए । सन् १९९७÷९८ को रणजी ट्रफीमा राजीवले सर्वाधिक ८०९ रन प्रहार गरेका थिए ।
राजीवले प्रशिक्षकको रुपमा झारखण्डको टिम, भारत ए, भारत ब्लू, हिमाञ्चल प्रदेश र चेन्नेई सुपर किंग्स लगायतका टिमबाट काम गरिसकेका छन् ।
भारतको ‘फस्ट क्लास’ क्रिकेटमा क्रिकेटर महेन्द्र सिंह धोनीका कप्तान समेत रहि सकेका राजीवले धोनीलाई प्रशिक्षकको रुपमा प्रशिक्षण दिएका छन् ।
पोखरा एभन्जर्सका मालिक सुबोध त्रिपाठीले कुमारलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेपछि बधाई दिँदै कार्यकालको शुभकामना दिए ।
नियुक्ती पछि कुमारले नयाँ यात्राको लागि खुसी भएको र नेपाल आउन उत्साहित रहेको प्रतिक्रिया दिए ।
पोखराको मार्कीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल रहेका छन् । एनपीएल १५ मंसिरबाट ६ पुससम्म हुँदैछ ।