काठमाडौं। अनिलकुमार साहको अर्धशतकसँगै नेपालले ५० ओभरको अभ्यास खेलमा हाइप्रोफोमेन्स (एचपी)लाई पराजित गरेको छ। बिहीबार बिहान भएको खेलमा नेपाल दुई विकेटले विजयी भएको हो।
हाइप्रोफोमेन्स (एचपी)ले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले ४६.२ ओभरमा आठ विकेट गुमाउँदै १९८ रन बनायो।
नेपालका अनिलले सर्वाधिक ५९ रन बनाए। ७३ बल खेलेका उनले पाँच चौका र तीन छक्का प्रहार गरेका थिए। आरिफ शेखले ३४ र कुशल मल्लले ३० रन बनाए। दुवै अविजित रहे।
अर्जुन साउद २३, देव खनाल ११, दीपेन्द्रसिंह ऐरी आठ रनमा आउट हुँदा कप्तान तथा ओपनर आसिफ शेख सात रनमा पेभिलियन फर्किए। नियमित कप्तान रोहितकुमार पौडेललाई भने आराम दिइएको थियो।