काठमाडौं। पराजय, खराब प्रदर्शन, ठूलो हार, लज्जास्पद खेल। यी सबै शब्दले भारतको इन्डियन वुमेन्स लिग (आईडब्लुएल) च्याम्पियन उडिसा एफसी वुमेनको लागि एएफसी च्याम्पियन्स लिगको डेब्यु खेलमा बेहोरेको हार सधैँ झस्काउने भएको छ।
हो ची मीन सिटी, भियतनाममा भएको समूहको पहिलो खेलमा उडिसाले जापानको उरावा रेड डायमन्ड्स लेडिजविरुद्ध १७–० को हार बेहार्यो। खासमा खेल तीन दिनअघिको हो। प्रशिक्षक क्रिस्पेन क्षत्रीले सम्हालेको उडिसाले चोटका कारण केही खेलाडी गुमाएका थिए। त्यहीपनि १७ गोल बेहोर्ने कल्पना पनि गरिएको थिएन। तर, उसले पहिलो हाफमै ८ गोल गर्यो। दोस्रो हाफमा ९ गोल थप्यो।
एएफसी (एसियाली फुटबल महासंघ) को पुरुष वा महिलाको क्लब प्रतियोगितामा भारतीय टिमले बेहोरेको सबभन्दा खराब नतिजा पनि यही उडिसाको हार बन्यो। जापानी महिला फुटबलको शीर्ष डिभिजन लिगमा दुईपल्ट च्याम्पियन भएको उरावा रेड च्याम्पियन्स लिगको उपाधिको दाबेदार टिम हो। उसले एएफसी वुमेन्स क्लब च्याम्पियनसिप २०२३ को उपाधि जितेको थियो। उसले उडिसालाई दबाबमा राख्दै एकतर्फी प्रदर्शन गर्नसक्ने अनुमान त थियो तर १७ गोल ठोक्ने सोचिएको थिएन।
यु इन्डोले पाँचौ मिनेटमै गोलको खाता खोलेकी थिइन्। त्यसपछि गोलको वर्षात्मात्रै होइन, बाढी नै भयो। मिकी इतोले चार गोल गरिन्। युजुसो सिओकोसीले ह्याट्रिक गरिन्। अरु सात खेलाडीले पनि गोल गर्न भ्याए भने एक गोल उडिसाको उपहार (आत्मघाती) रह्यो।
एएफसीको तथ्यायंकअनुसार जापानी टिमले ५५ पल्ट पोस्टमा आक्रमण गर्यो। त्यसमध्ये २९ प्रहार ‘अन टार्गेट’ थियो। पूरा खेलमा भारतीय टिमले एकपल्ट मात्रै पोस्टमा प्रहार गर्यो, जुन खेलको अन्त्यमा भएको थियो।
एएफसी वुमेन्स च्याम्पियन्स लिग नयाँ प्रतियोगिता हो। उडिसाले प्रारम्भिक चरणमा सिंगापुरको लायन सिटी सेलर्स र युएईको इतिहाद क्लबलाई पराजित गर्दै च्याम्पियन्स लिगको समूह चरणमा स्थान बनाएको थियो। आईएसएल (इन्डियन सुपर लिग) टिम उडिसा एफसी महिला टिम हो यो। उडिसा एफसीको महिला टिम सन् २०२२ मा सुरु गरिएको थियो।
नेपालको एपीएफ क्लबको महिला टिमले पनि च्याम्पियन्स लिगको प्रारम्भिक चरण खेलेको थियो। मलेसियामा भएको प्रतिस्पर्धामा एपीएफले उज्बेकिस्तानको नासाफविरुद्ध १–० को हार बेहोर्यो भने घरेलु टिम सवाहसँग गोलरहित खेल्यो। त्यसैले वुमेन्स च्याम्पियन्स लिगमा एपीएफको चुनौती प्रारम्भिक चरणमै समाप्त भएको थियो।