पथरी। दसैंको बिदा पारेर फुटबल प्रतियोगिता आयोजना हुनु थालेका छन्। स्थानीय खेलाडीलाई त्यस्ता प्रतियोगिताले खेल कौशल प्रदर्शन गर्ने अवसर मिल्छ भने केही रकमसमेत कमाउन पाउँछन्।
स्थानीयस्तरमा हुने फुटबलका प्रतियोगितालाई मिडिया कभरेज नमिले पनि हेर्ने दर्शकको भने कमी हुदैन। खेतीपातिबाट वफुर्सद भएकादेखि चाड मनाउन घर आएकासम्म त्यस्ता प्रतियोगिताबाट मनोरञ्जन लिन मैदान पुग्ने गरेका छन्।
पथरीशनिश्चरे नगरमा मात्रै यस अवधिमा तीन फुटबल प्रतियोगिता सञ्चालनमा रहेका छन्। दशैको नवमीसम्ममा फाइनल सक्नु पर्ने भएकाले आयोजकले एक्कै दिन दुईदेखि तीन खेल सञ्चालन गर्ने गरेका छन्।
सोमबाट स्थानीय शान्ति युवा क्लबको आयोजनामा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ। उद्घाटन खेलमा शान्ति युवा क्लब र राइजिङ स्पोटिङ क्लब विजयी भए। शान्ति युवा क्लबले आम्बारी युवा क्लबमाथि ५–० को फराकिलो जित निकाल्यो। शान्तिका लागि ए डिभिजन क्लब वाट खेलिसकेको खेलाडी मीन धिमाल र भीम भुजेलले समान दुई गोल गर्दा सन्देश राईले एक गोल गरे।
दोस्रो खेलमा शान्ति युवा क्लबको निलो टिमलाई १–० ले राइजिङ स्पोटिङ क्लबले जित निकाल्यो। राइजिङका रुपेश राईले गोल गरे। क्वार्टरफाइनल प्रवेश गरेको शान्तिले मंगलवार केलाङ एफसीसँग भिड्ने छ। अर्को खेलमा बुद्ध चोकले सिरीजंघासामू चुनौती पेस गर्नेछ।