काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
एन्फाले कार्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउँदैछन् ।
प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको प्रवक्ता सुरेश शाहले जानकारी दिए । बन्द प्रशिक्षणमा २७ खेलाडी छन् ।
प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको शाले बताए। प्रतियोगिताको अनुमानित बजेट ४ करोड ६० लाख ८०० रुपैयाँ रहेको छ।