काठमाडौं। एसीसी (एसियन क्रिकेट काउन्सिल) इमर्जिङ टी–२० कपमा विकेटकिपर ब्याट्सम्यान मोहम्मद हारिसले पाकिस्तानको नेतृत्व गर्ने भएका छन्। प्रतियोगिता ओमानमा अक्टोबर १८ देखि सुरु हुनेछ।
डिफेन्डिङ च्याम्पियन पाकिस्तान टिममा हालै सम्पन्न च्याम्पियन्स कप र घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरेका खेलाडीले मौका पाएका छन्।
टोलीले अक्टोबर ११ देखि १५ सम्म कराँचीस्थित हनीफ मोहम्मद हाई परफर्मेन्स सेन्टरमा प्रशिक्षण गर्नेछ भने अक्टोबर १६ मा ओमान प्रस्थान गर्नेछ। च्याम्पियन्स कप एकदिवसीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आक्रामक ब्याट्सम्यान अब्दुल समदले पनि टोलीमा स्थान पाएका छन्। टोलीमा हैदर अलीसँगै अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव भएका चार खेलाडी पनि छन्। प्रतियोगितामा आठ टिमको सहभागिता रहनेछ। चार टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह 'ए' मा अफगानिस्तान 'ए', बंगलादेश 'ए', हङकङ र श्रीलंका 'ए' छन् भने समूह 'बी' मा डिफेन्डिङ च्याम्पियन पाकिस्तान शाहीन (ए) सँगै भारत 'ए', ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन्। प्रतियोगिताका सबै खेल मस्कटस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा हुनेछन्। पाकिस्तानले अक्टोबर १९ मा भारतविरुद्ध आफ्नो अभियानको सुरु गर्नेछ। प्रत्येक समूहका शीर्ष दुई टोलीले अक्टोबर २५ मा हुने सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनल २७ अक्टुबरमा हुनेछ।