पथरी। प्रथम पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताबाट १० लाख ८३ हजार ७७७ रुपैयाँ बचत भएको छ।
सोमबार पत्रकार सम्मेलन गर्दै गोल्डकपको आयोजक पथरी–११ फुटबल क्लबले बचत भएको रकम क्लब सहभागी हुने प्रतियोगिता र विकासमा लगाउने खेल संयोजक जितन राईले जानकारी दिए। उनका अनुसार थप दुई लाख सात हजार पाँच सय रुपैयाँ संकलन हुन बाँकी छ।
उक्त रकम संकलन भएपछि बचत रकम बढ्ने उनले बताए। ४७ लाख ६४ हजार तीन ३६ रुपैयाँको आयब्यय प्रस्तुत गर्दै संयोजक राईले संकलित रकममा ७५ प्रतिशत सहयोग विदेशमा पसिना बगाइरहेका खेलप्रेमी नेपालीको रहेको जानकारी गराए।
गोल्डकपलाई पथरीशनिश्चरे नगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको थियो। क्लबका कोषाध्यक्ष मोहनकुमार श्रेष्ठले नगरमा राम्रो पारापिट हुने हो भने टिकटबाट नै राम्रो आर्थिक संकलन हुने बताए। असोज ५ बाट सञ्चालन भएको सो गोल्डकप १२ गते सम्पन्न भएको थियो।