काठमाडौं। सातौं राइनो संरक्षण गोल्डकपको उद्घाटन खेलमा हनामी र देशभक्त फुटबल क्लब भिड्ने भएका छन्।
एक सिगें गैँडा संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यसहित राइनो क्लबले कार्तिक ३ गतेदेखि प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगितामा ‘ए’ डिभिजनका तीनसहित १२ टोली सहभागी हुनेछन्।
प्रतियोगिताका सम्पूर्ण खेल नवलपुरको मध्यविन्दु २ कोल्हुवा रहेको राइनो रंगशालामा हुने छ। हनामी र देशभक्तको खेल कार्तिक ३ गते दिउँसो १:३० बजे हुनेछ।
एक सिगें गैँडाको संरक्षण र वन्यजन्तुको चोरी सिकार नियन्त्रणका लागि युवाहरूलाई प्रत्यक्ष सहभागी गराउने उद्देश्यले २२ वर्ष अघिदेखि प्रतियोगिता हुँदै आएको छ।
प्रतियोगितामा संकटा फुटबल क्लब, एपिएफ र नेपाल पुलिससहित देशभक्त फुटबल क्लब, हनामी, नुमना युथ क्लब, वीरगन्ज युनाइटेड, कपिलवस्तु ११, नमोबुद्ध युथ क्लब, चित्लाङ फुटबल क्लब, इमफाल सिटी भारत र फरसाटिकर युथ क्लबले प्रतिस्पर्धा गर्नेछन्।