काठमाडौं। सन् २०२६ को टी–२० विश्वकपसम्म श्रीलंकाको पुरुष टोलीको मुख्य प्रशिक्षकमा सनथ जयसूर्या नियुक्त भएका छन्।
गत जुलाईदेखि श्रीलंकाको प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएपनि हालसम्म उनी अन्तरिम प्रशिक्षक नै थिए। उनको नेतृत्वमा श्रीलंकाको पछिल्लो सफलतापछि श्रीलंका क्रिकेट (एसएलसी) ले उनलाई स्थायी प्रशिक्षक बनाउने निर्णय गरेको छ।
पछिल्ला केही महिनामा जयसूर्याको प्रशिक्षणमा श्रीलंकाले २७ वर्षपछि भारतविरुद्धको एकदिवसीय शृंखला जितेको थियो। त्यसपछि इङ्ल्यान्डविरुद्धको टेस्ट श्रीलंकाले जितेको थियो र त्यसपछि न्युजिल्यान्डलाई २–० ले पराजित गरेको थियो। विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने आशा जीवित छ।
एसएलसीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, श्रीलंका क्रिकेटको कार्यकारी समितिले टोलीको उत्कृष्ट प्रदर्शनलाई ध्यानमा राख्दै यो निर्णय गरेको हो। जयसूर्याको अन्तरिम प्रशिक्षकको कार्यकालमा टोलीले भारत, इङ्ल्यान्ड र न्युजिल्यान्डविरुद्ध प्रभावशाली जित हासिल गरेको छ।
यसअघि आईसीसीले भ्रष्टाचारविरुद्धको आरोपमा श्रीलंकाली टोलीलाई दुई वर्षको प्रतिबन्ध लगाएपछि जयसूर्याले श्रीलंकाली टोलीको मुख्य छनोटकर्ताको जिम्मेवारी पनि सम्हालेका थिए। जयसूर्याले विभिन्न समयमा दुई पटक उक्त पद सम्हालिसकेका छन्।
मुख्य प्रशिक्षकका रूपमा जयसूर्याको पहिलो टेस्ट वेस्ट इन्डिजविरुद्धको घरेलु सेतो बल सिरिजमा हुनेछ। यी खेलहरू डम्बुला र पल्लेकेलेमा हुनेछन्।