काठमाडौं। डोपिङ मुद्दा खेपिरहेका फ्रान्सेली टोलीका विश्वकप विजेता पाउल पोग्बा सन् २०२५ को मार्चमा आफ्नो करियर पुनः सुरु गर्न स्वतन्त्र हुनेछन्।
कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टमा अपिल गरेपछि शुक्रबार डोपिङका लागि चार वर्षको प्रतिबन्धलाई घटाएर १८ महिनामा झारिएको छ। गत वर्षको अगस्टमा टेस्टोस्टेरोनको परीक्षण गर्दा पोजिटिभ देखिएका पोग्बाले भने, ‘म मैदानमा फर्कन प्रतिक्षा गर्न सक्दिनँ।’
तर, उनको क्लब युभेन्ट्स भने स्वागत गर्न त्यति उत्साह देखिँदैन। सिरी ‘ए’ अन्तर्गत शनिबार काग्लियारीविरुद्धको खेलअघि स्पोर्टिङ डाइरेक्टर क्रिस्टियानो गिउन्टोलीले भने, ‘उनी उत्कृष्ट खेलाडी थिए। तर, उनी लामो समयदेखि मैदानबाहिर छन्।’
शुक्रबार प्रि–म्याच प्रेस कन्फरेन्समा प्रशिक्षक थियागो मोट्टाले गरेको टिप्पणी पनि गिउन्टोलीको भनाइसँग मिल्दोजुल्दो छ । ‘पोग्बाको बारेमा के गर्ने भनेर क्लबले निर्णय गर्नेछ। मेरा लागि उनी उत्कृष्ट खेलाडी थिए। तर, उनले लामो समयदेखि खेलेका छैनन्। अब मेरो ध्यान भोलिको खेलमा मात्र केन्द्रित छ, अहिले मेरो लागि अरु सबै कुराले खासै महत्त्व राख्दैन,’ उनले भने।
सन् २०१६ मा युभेन्ट्सबाट १० करोड ५० लाख युरो (११ करोड ३० लाख अमेरिकी डलर) मा म्यानचेस्टर युनाइटेडमा आबद्ध हुँदा ३१ वर्षीय पोग्बा इतिहासकै सबैभन्दा महँगा फुटबल खेलाडी बनेका थिए ।
उनले सन् २०१८ मा फ्रान्सलाई विश्वकप जिताएका थिए भने सन् २०२२ मा युभेन्ट्समा फ्रि एजेन्टका रूपमा फर्किएका थिए । तर, चोटका कारण उनले प्रतिबन्धअघि आठ खेल मात्रै खेल्न पाए।