पथरी। भारतको पश्चिम बंगाल राज्यको सिलगुडीमा भएको च्याम्स कप फुटबल प्रतियोगितामा उर्लाबारीको मंगलबारे फुटबल क्लब उपविजेता बनेको छ।
आइतबार सम्पन्न फाइनलमा वेस्ट बंगाल आर्म प्रहरी फोर्ससँग मंगलबारे टसमा पराजित हुँदै उपविजेतामा सिमित भएको हो।
निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि खेलको छिनोफानो ट्राइबेकरमार्फत लगाइने प्रयास गरिएको थियो। तर, ट्राइबेकरमासमेत नतिजा आउन नसके पछि खेल सडनडेथमा धकेलियो। सडनडेथमा पनि खेलको निर्णय नभएपछि नतिजाका लागि टस गरिएको थियो।
निर्धारित समयमा मंगलबारेका सनम भुजेल र बंगाल प्रहरी फोर्सका सनातनले गोल गरे।
टसमा अभागी भएको मंगलबारेले एक लाख रुपैयाँ र ट्रफी प्राप्त गर्यो। प्रतियोगिताको सर्वाधिक गोलकर्ता र उत्कृष्ट फरवार्ड मंगलबारेका सनम भुजेल घोषित भए। उत्कृष्ट गोलकिपर मुस्कान लिम्बू, उत्कृष्ट डिफेन्डर रविन मगर घोषित भए। आर्म फोर्सका सनातन उत्कृष्ट मिडफिल्डर भए।