काठमाडौं। इङ्ल्यान्ड टोलीका कप्तान बेन स्टोक्सले पाकिस्तानविरुद्धको पहिलो टेस्ट गुमाउने भएका छन्।
चोटका कारण श्रीलंकाविरुद्धको घरेलु शृंखलाबाट बाहिरिएका स्टोक्स अझै पूर्णरुपमा फिट छैनन्। इङ्ल्यान्ड का यी अलराउन्डर द हन्ड्रेडमा ह्यामस्ट्रिङको चोटबाट ग्रस्त भएका थिए र अहिलेसम्म पूर्णरूपमा निको हुन सकेका छैनन्।
स्टोक्सको अनुपस्थितिमा क्रिस वोक्स करिब साढे दुई वर्षपछि घरबाहिर टेस्ट खेल्न सक्नेछन्। एसियाली माटोको कुरा गर्ने हो भने वोक्सले अन्तिम पटक सन् २०१६ मा एसियामा टेस्ट खेलेका थिए।
कप्तानको जिम्मेवारी फेरि ओली पोपको काँधमा परेको छ। पोप लगातार चौथो टेस्ट खेलमा इङ्ल्यान्डको कप्तान हुनेछन्। हालै पोपको कप्तानीमा इङ्ल्यान्डले श्रीलंकाविरुद्धको घरेलु शृंखलामा २–१ ले जित हासिल गरेको थियो।