निजगढ। मधेश प्रदेशस्तरिय यु– १९ क्रिकेट छनाेट प्रतियोगितामा बाराले विजयी सुरुआत गरेको छ।
समूह ‘ए’ अन्तर्गत कलैयाको सिद्धेश्वर क्रिकेट मैदानमा भएको प्रतियोगिताको पहिलो खेलमा बाराले सर्लाहीलाई ११५ रनले हराएको हो।
बाराले दिएको १५१ रनको लक्ष्य पछ्छाएको सर्लाही १६.२ ओभरमा ३५ रन बनाउँदै अलआउट भयो। सर्लाहीका परिमार्जन यादवले सर्वाधिक ९ रन बनाए। सर्लाहीलाई सस्तैमा समेट्न बाराकाअमरदीप यादवले सर्वाधिक ५ विकेट हात पारे। ५.२ ओभरमा बलिङ गरेका उनले ४ रन खर्चँदै ५ विकेट लिए।
रोहन साहले थप २ विकेट लिए। खेलको प्लेयर अफ द म्याच अमरदीप यादव घोषित भए। त्यसअघि पहिला ब्याटिङ गरेको बाराले ३८ ओभरमा अलआउट हुँदै १५० रन बनाएको थियो। बाराका रोहन साहले सर्वाधिक ३६ रन बनाए। नीरज यादवले ३१ र साहिल पटेलले २१ रन बनाए।
प्रतियोगिताअन्तर्गत आइतबार सर्लाही र सप्तरीबीच प्रतिस्पर्धा हुनेछ। खेल कलैयाको सिद्धेश्वर क्रिकेट मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ। मधेशका ८ वटा जिल्लालाई दुई समूहमा विभाजन गरेर खेलाइएको प्रतियोगिताबाट यु–१९ टोली बनाइनेछ। प्रतियोगिताको समूह ‘ए’ मा बारा, रौतहट, सर्लाही र सप्तरी छन्। अर्काे समूहमा पर्सा, महोत्तरी, धनुषा र सिराहा छन्।