काठमाडौं। फ्रान्सेली फुटबल खेलाडी पाउल पोग्बाको डोपिङ प्रतिबन्ध घटाइएको छ। उनीमाथि चार वर्षको प्रतिबन्ध लागेको थियो। उक्त प्रतिबन्ध घटाएर १८ महिना कायम गरिएको फ्रान्सेली फुटबल कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट (सीएएस) ले शुक्रबार जनाएको छ।
क्यासका महानिर्देशक म्याथियु रीबले भने, 'निलम्बन अब १८ महिनाको हुनेछ, जुन सेप्टेम्बर ११, २०२३ देखि सुरु हुनेछ।'
सन् २०२३ को सेप्टेम्बरमा इटालीको राष्ट्रिय एन्टी डोपिङ अर्गनाइजेसन (नाडो इटालिया) ले टेस्टोस्टेरोनको मात्रा बढाउने प्रतिबन्धित पदार्थ डीएचईए पोजिटिभ देखिएपछि फ्रान्सका अन्तर्राष्ट्रिय खेलाडीलाई अस्थायी रूपमा निलम्बन गरेको थियो।
सन् २०२६ को जुनसम्म युभेन्ट्ससँग सम्झौता गरेका ३१ वर्षीय पोग्बाले कुनै पनि गलत काम नगरेको भन्दै गत फेब्रुअरीमा क्याससमक्ष अपिल गर्ने बताएका थिए।
सन् २०२३ अगस्ट २० मा उडिनेसमा भएको सिरी 'ए' मा युभेन्ट्सले सिजनको पहिलो खेलमा ३–० को जित हात पारेपछि डोपिङ परीक्षण गरिएको थियो।