निजगढ। गत आश्विन १२ गते मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ टेकरस्थित वत्सलादेवी एन्फा एकेडेमीनजिक पहिरोमा पुरिएर निधन भएका खेलाडीहरूको स्मृतिमा निजगढमा दीप प्रज्वलन गरिएको छ।
पहिरोमा पुरिएर निजगढका विकल रेग्मीसहित मकवानपुरका साइमन योन्जन, अनुप घलान, दिवस बानियाँ, सर्लाहीका आदित्य बलम्पाकी र धादिङका रियान्स आचार्यको निधन भएको थियो। विकलले प्रारम्भिक फुटबल प्रशिक्षण गरेको निजगढ फुटबल क्लबले शुक्रबार साँझ दीप प्रज्वलन गरेर समवेदना व्यक्त गरिएको हो। निजगढ ९ स्थित चाइनिज क्याम्प खेल मैदानमा आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रममा निजगढ फुटबल क्लबका पदाधिकारी, प्रशिक्षक, क्लबमा प्रशिक्षणरत खेलाडी र अभिभावकहरूले श्रद्धाञ्जली व्यक्त गरेका थिए।
निजगढ फुटबल क्लबमा प्रशिक्षण गरिरहेका विकललगायत पाँच जना खेलाडीहरू एन्फा एकेडेमीमा प्रशिक्षण गरिरहेका थिए। क्लबले आयोजना गरेको दीप प्रज्वलनसहित मौन धारण कार्यक्रममा क्लबका अध्यक्ष शम्भु थापा मगरले विकलको निधनले निजगढमा खेलाडी उत्पादन गर्ने क्लबको उद्देश्यमा गम्भीर क्षति पुगेको प्रतिक्रिया जनाउँदै दुख व्यक्त गरे। क्लबले प्रशिक्षणसहित सहजीकरण गरेर राष्ट्रिय टोलीसम्मको यात्रा तय गर्नेगरी आफूहरूले खेलाडी उत्पादन गरिरहेकोमा विकलको निधनले अपूरणीय क्षति भएको उनको भनाइ थियो। पहिरोमा पुरिएर निधन भएका खेलाडीहरूको उद्देश्य अब सहप्रशिक्षणरत खेलाडीहरूले पूरा गर्नुपर्ने बताए।