काठमाडौं। चित्लाङ एफसी काठमाडौं जिल्ला लिगको च्याम्पियन बनेको छ।
सानो गौचरण मैदानमा चावहिल फुटबल क्लबलाई ५-० ले पराजित गर्दै चित्लाङले उपाजित जितेको हो। चित्लाङलाई जित दिलाउन सुजित बुढाथोकीले दुई तथा आयुश कुँवर, रुजित पुडासैनी र विकास लामाले समान एक गोल गरे।
उपाधिसँगै चित्लाङले १ लाख रुपैयाँ प्राप्त गर्यो। व्यक्तिगत विधामा पनि चित्लाङले नै कब्जा जमायो। सुजित बुढाथोकी सर्वोकृष्ट खेलाडी घोषित भए। उनले ५ हजार प्राप्त गरे।
चित्लाङकै सक्कल रेग्मी, चन्द्रसुन्दर श्रेष्ठ र रुपेश क्षेत्री क्रमशः उत्कृष्ट रक्षक, गोलकिपर र प्रशिक्षक चुनिए।अपराजित रहँदै च्याम्पियन बनेको चित्लाङले समूह चरणमा एसिसी क्लबलाई २-०, समाज सेवा क्लबलाई ३-० तथा सेमिफाइनलमा दक्षिणकाली क्लबलाई ४-२ ले पराजित गरेको थियो।
जिल्ला लिगमा च्याम्पियन भएसँगै चित्लाङ अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने प्रदेश लिगका लागि छनोट भएको छ। काठमाडौं जिल्ला फुटबल संघको आयोजनामा सम्पन्न प्रतियोगितामा १२ टोलीको सहभागिता थियो।
एन्फाका उपाध्यक्ष एवं काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही लगायतले विजेतालाई पुरस्कार वितरण गरेका थिए।