काठमाडौं। ह्यामस्ट्रिङको सामान्य चोटका कारण फ्रान्सका किलियन एमबाप्पे नेसन्स लिगका खेल गुमाउने भएका छन्।
बुधबार राति च्याम्पियन्स लिगमा रियल मड्रिड १–० ले पराजित हुँदा एमबाप्पे दोस्रो हाफमा सब्स्टिच्युटका रुपमा मैदान उत्रिएका थिए। तर, फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प्सले उनलाई बाहिर राख्ने निर्णय गरेको बताएका छन्।
'मैले केलियनसँग कुरा गरें। उनको समस्या गम्भीर छैन। म यहाँ जोखिम लिन आएको होइन, त्यसैले किलियन सूचीमा छैनन्,' उनले भने।
फ्रान्सले अक्टोबर १० मा इजरायलसँग खेल्नेछ र त्यसको चार दिनपछि बेल्जियमसँग खेल्नेछ। फ्रान्सका लागि ४८ गोल गरेका एमबाप्पे यसअघिका अन्तर्राष्ट्रिय खेलमा बेल्जियम र इटालीविरुद्ध गोल गर्न असफल भएका थिए। यसले उनको अन्तर्राष्ट्रिय स्कोरिंग खडेरीलाई पाँच खेलहरूमा पुर्याएको छ।
डेसच्याम्प्सले भने, 'उनी मानसिक रुपमा राम्रो अवस्थामा थिएनन्। तर मलाई उनको प्रतिबद्धताको बारेमा अलिकति पनि शंका छैन।' अनुभवी मिडफिल्डर एन'गोलो कान्टे पनि सामान्य चोटका कारण टोलीमा अनुपस्थित हुनेछन्।
एट्लेटिको मड्रिडका फरवार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेपछि १० वर्षमा पहिलो पटक डेसच्याम्प्सले एन्टोनी ग्रिजम्यानलाई समावेश गरेका छैनन्। ग्रिजम्यानले फ्रान्सका लागि १३७ खेलमा ४४ गोल गर्नुका साथै ३० असिस्ट गरेका थिए।
डेसच्याम्प्सले भने, 'एन्टोनी यस्तो उमेरमा पुगिसकेको छ, जहाँ तपाईं शारीरिक र मानसिक थकानको अनुभव गर्नुहुन्छ।'