काठमाडौं। नेपाल सुपर लिग (एनपिएल)को फ्रेन्चाइजी सुदूरपश्चिमाञ्चल रोयल्सले ओलम्पियन दीपक विष्टलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
विष्ट र सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
सुदूरपश्चिम मात्र नभइ देशका शान तेक्वान्दोका सफल खेलाडी विष्टलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गर्न पाउनु खुसीको बिषय भएको शाहले बताए।
‘उहाँ खेलकुदको रोलमोडल हो। आफ्नो समयमा खेलेर योगदान गर्नुभयो। अहिले नयाँ पुस्ताका खेलाडीलाई हौसला बढाउँदै आउनुभएको छ। उहाँ हामीसँग जोडिनु सुदूरपश्चिम रोयल्सका लागि गर्वको विषय हो,’ उनले भने।
दक्षिण एसियाली खेलकुद (साग) का चार पटकका स्वर्ण पदक विजेता विष्टले एसियाली खेलकुदमा दुई पटक कास्य पदक जितेका थिए।
छनोट चरण पार गरेर उनले बेइजिङ ओलम्पिक २००८ खेलेका थिए। सुदूरपश्चिमको मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी र मुख्य प्रशिक्षक जगत टमटा छन्।