काठमाडौं। पोर्चुगिच क्लब बेन्फिकाले च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडविरुद्ध सहज जित हात पारेको छ।
बुधबार राति भएको खेलमा घरेलु टोलीले भ्रमणाकारी स्पेनिस टोलीमाथि ४–० को सजिलो जित हात पारेको हो। लगातार दोस्रो जितसँगै ६ अंक पुर्याएको बेन्फिका तालिकामा तेस्रो स्थानमा छ।
एट्लेटिको भने यो पहिलो हार हो। दुई खेलबाट तीन अंक जोडेको एट्लेटिको २३औं स्थानमा छ। १३औं मिनेटमै करिम अकतुर्कोग्लूको गोलमा बेन्फिकाले सुरुआती अग्रता लिएको थियो। ५२औं मिनेटमा एन्जेलो डि मारियाले अग्रता दोब्बर बनाए।
७५औं मिनेटमै अलेक्जेन्डर बाहले अग्रता ३–० मा पुर्याए। निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा ओरकुन कोकचूले अर्को गोल गर्दै घरेलु टोलीलाई सहज जित दिलाए।