काठमाडौं। लिओनल मेसीले पहिलो हाफको इन्जुरी समयमा दुई गोल गर्दै फ्रेन्चाइज इतिहासमा पहिलो पटक इन्टर मियामीलाई सपोर्टर्स सिल्ड जिताएका छन्।
बिहीबाार बिहान भएको खेलमा मियामीले कोलम्बस क्रूलाई ३–२ ले पराजित गरेको हो। मियामीको जितमा लुइस सुआरेजले पनि एक गोल थपे।
यो मेसीले क्लब र देशका लागि जितेको ४६औं ट्रफी हो। मियामीको साथ उनले जितेको भने यो दोस्रो उपाधि हो। खेलको ४५औं मिनेटमा मेसीले जोर्डी अल्बाको लामो पासमा गोल गर्दै मियामीलाई सुरुआ अग्रता दिलाएका थिए।
पहिलो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा मेसीले करिब ३० यार्ड टाढाबाट फ्रिकिकमा गोल गरे। दोस्रो हाफको पहिलो मिनेटमै डिएगो रोसीले गोल गर्दै कोलम्बसलाई खेलमा फर्काउने प्रयास गरेका थिए।
तर, मियामीलाई दुई गोलको अग्रता लिन धेरै समय लागेन। त्यसको दुई मिनेटपछि नै सुआरेजलेहेडरमार्फत गोल गर्दै मियामीको अग्रता ३–१ मा पुर्याए।
६१औं मिनेटमा जुआन हर्नान्डेजले पेनाल्टीमा गोल गर्दै कोलम्बसलाई ३–२ को स्थितिमा ल्याए। तर, ६३ औं मिनेटमा रुडी कामाचो दोस्रो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि कोलम्बस १० खेलाडीमा सिमित भयो।
तर, त्यसले कोलम्बसलाई केही फरक परेन। कोलम्बसले अझै पनि स्ट्रेचमा केही ठूला अवसरहरू सिर्जना गरेको थियो। तर, गोल भने थप्न सकेन।