काठमाडौं। कप्तान रोहितकुमार पौडेलको अलराउन्ड प्रदर्शनसँगै नेपालले क्यानडा ट्वान्टी–२० त्रिकोणात्मक सिरिजमा ओमानमाथि लगातार दोस्रो जित हासिल गरेको छ। बिहीबार बिहान भएको खेलमा नेपालले ओमानलाई ५६ रनले पराजित गरेको हो।
यसअघि नेपालले ओमानलाई नै ३७ रनले पराजित गरेको थियो। नेपाल घरेलु टोलीसँग पहिलो खेलमा चार विकेटले पराजित भएको थियो। दोस्रो खेलमा पनि नेपाल सोही टोलीसँग १४ रनले पराजित भयो।
योसँगै नेपालले चार खेलबाट चार अंक जोडेको छ। एक खेल कम खेलेको क्यानडाको पनि समान अंक छ। तर, नेटरनरेटमा नेपाल अगाडि छ। नेपालको नेटरनरेट ०.९३५ छ भने क्यानडाको –०.२५३ छ।
क्यानडाले अन्तिम खेल ओमानसँग खेल्ने छ। यही खेलबाट विजेताको टुंगो लाग्ने छ। ओमानको भने तीन खेलबाट दुई अंक मात्रै छ।नेपालको जितमा कप्तान रोहितको प्रदर्शन तारिफयोग्य रह्यो।
रोहितले ४४ बलमा दुई चौका र चार छक्कासहित ५६ रन बनाए। बलिङतर्फ पनि एक ओभरमा सात रन खर्चिएर दुई विकेट लिए। उनकै अर्धशतकसँगै नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५७ रन बनाएको थियो।
जवाफी ब्याटिङमा आएको ओमानले १७.५ ओभरमा १०१ रन बनाउँदै सबै विकेट गुमायो।