काठमाडौं। बाबर आजमले एक वर्षमा दोस्रो पटक पाकिस्तानको सीमित ओभरको कप्तानीबाट राजीनामा दिएका छन्।
गत महिना मात्र उनले कम कामको बोझ र ब्याटिङमा ध्यान केन्द्रित गर्ने भन्दै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई जानकारी दिएका थिए।
पाकिस्तानको सीमित ओभरको कप्तान बनेको करिब ६ महिनामै बाबरले कप्तानीबाट राजीनामा दिएका हुन्। गत वर्ष एकदिवसीय विश्वकपमा पाकिस्तानको खराब प्रदर्शनपछि बाबरले कप्तानीबाट राजीनामा दिएपछि शाहिन शाह अफ्रिदीलाई टी–२० क्रिकेटको नयाँ कप्तान बनाएको थियो। तर, अप्रिल महिनामा बाबरलाई पाकिस्तानको सीमित ओभरको कमाण्ड दिइएको थियो।
बाबरको कप्तानीको पहिलो कार्यकालमा पाकिस्तानले धेरै उपलब्धि हासिल गरेको थियो। बाबरको कप्तानीमा दक्षिण अफ्रिकामा विभिन्न फर्म्याटको शृंखला र अस्ट्रेलियामा एकदिवसीय शृंखला जित्नुका साथै पाकिस्तानले लगातार दुईवटा टी–२० विश्वकपको सेमिफाइनल खेलेको थियो।
तर, उनको दोस्रो कार्यकाल खासै राम्रो भएन। बाबरको कप्तानीमा पाकिस्तानले १३ टी–२० खेलमा मात्र ६ खेल जितेको छ र यसमा लज्जास्पद टी–२० विश्वकप अभियान पनि समावेश छ।
बाबर औपचारिक रूपमा टी–२० र एकदिवसीय दुवैको कप्तान नियुक्त भए पनि दोस्रो कार्यकालमा एकदिवसीयको कप्तानी गर्ने अवसर भने पाएनन्।