काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक विनोद दासले आईसीसी महिला विश्वकप क्रिकेटको छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् ।
थाईल्याण्ड वुमन्स ट्वान्टी २० स्म्यास क्रिकेटमा उपविजेता बनेको स्वदेश फर्किएपछि विमानस्थलमा बोल्दै प्रशिक्षक दासले फाइनलमा चुक्दा उपाधि ल्याउन नसकेको तर विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने बताए । शनिबार भएको उपाधि भिडन्तमा नेपाल आयोजक थाईल्याण्डसंग ७० रनले पराजित भएको थियो ।
'थाईल्याण्ड राम्रो टिम हो । उनीहरुले सधै क्रिकेट खेलिरहेको हुन्छ । हाम्रो खेलाडी पनि राम्रो छ,' प्रशिक्षक दासले भने,' हामी मानसिक रुपमा कमजोर देखियौ । हामी थाईल्याण्डसंग नर्भस भयौ। हामी अब विश्वकप छनोटमा राम्रो गर्ने छौ ।'
प्रशिक्षक दासले नेपाली महिला टोलीले लामो समयपछि प्रतियोगिता खेलेको कारण फाइनलमा कमजोर देखिएको बताए । तर, प्रशिक्षक दासले अब थाईल्याण्डमै आयोजना हुने विश्वकप छनोटका लागि राम्रो तयारी गर्ने बताए ।
'हामीले विश्वकप छनोटमा राम्रो गर्ने छौ । विश्वकप छनोटमा हामीले थाईल्याण्डसंग पनि खेल्नेछौ । र, थाईल्याण्डलाई हराउने टिम भनेको नेपाल हो जस्तो लाग्छ,' प्रशिक्षक दासले भने ।
सन् २०२० मा आयोजना हुने आईसीसी महिला विश्वकप क्रिकेटका लागि एसिया छनोट आगामी फेब्रुवरीमा थाईल्याण्डमा हुँदैछ ।
छनोट फेब्रुवरी १८ देखि २७ सम्म हुनेछ । जसमा नेपालसहित ७ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेसिया, कुवेत, चीन र हङकङ रहेका छन् ।
राउण्ड रोबिनको आधारमा हुने छानोटको बिजेताले आईसीसी महिला टी-ट्वान्टी विश्वकप छनोट र आईसिसी महिला विश्वकप २०२० मा स्थान बनाउने छन् । छनोटको खेल तालिका भने सार्वजनिक भएको छैन ।