काठमाडौं । पहिलो संस्करणको सेतीदेवी अशोक शंकर स्मृति अन्तर स्कुल स्तरीय फुटबल प्रतियोगिता माघको दोस्रो साताबाट सिन्धुपाल्चोकमा हुने भएको छ ।
आयोजक युथ स्पोर्टस् क्लब लामोसाँघुले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ १५ देखि २२ गतेसम्म हुने जानकारी गराएको छ । प्रतियोगिताको सम्पूर्ण खेलहरु लामोसाँघुस्थित बसन्तपुर खेल मैदानमा हुनेछ ।
प्रतियोगितामा काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर र दोलखाका स्कुलहरुले प्रतिस्पर्धा गर्ने छन् । १४ टोली सहभागी हुने प्रतियोगिता नकआउटका आधारमा हुनेछ । सहभागी १४ टोलीलाई ४ समूहमा विभाजन गरिन्छ ।
प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार पाउने क्लबका अध्यक्ष बीर बहादुर खड्काले जानकारी दिए । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार पाउने छन् ।
प्रतियोगितालाई अर्को बर्षबाट प्रदेश स्तरीय बनाउने क्लबका अध्यक्ष खड्काले जानकारी गराए ।
'यो प्रतियोगिताले खेलाडी उत्पादनको आधार बन्नेछ । क्लबले अर्को सालबाट पुरस्कार राशी बढाएर प्रदेश स्तरिय बनाउने योजना बनाएको छ,' अध्यक्ष खड्काले भने ।
क्लबका स्वर्गीय सचिव अशोक महर्जन र सदस्य शंकर श्रेष्ठको स्मृतिमा क्लबले प्रतियोगिता आयोजना गर्न लागेको हो ।