काठमाडौं। इङ्लिस प्रिमियर लिग (इपिएल) अन्तर्गत सोमबार राति भएको खेलमा बर्नमाउथले साउथह्याम्पटनलाई ३–१ गोलअन्तरले पराजित गरेको छ।
साउथह्याम्पटनले ६ खेलपछि पनि जित हात पार्न सकेको छैन। अंकतालिकाको पुछारमा रहेको वोल्भरह्याम्पटन र साउथह्याम्पटनको अंक बराबरी छ। सन् १९९८ यता प्रिमियर लिगमा उक्लिएको टोलीले सबैभन्दा खराब सुरुआत गरेको यो पहिलो पल्ट हो।
ब्राजिलका स्ट्राइकर इभानिल्सनले गोल गर्दै बर्नमाउथलाई सुरुआती अग्रता दिलाएका थिए। ३२औं मिनेटमा डान्गो ओउटारा र त्यसको पाँच मिनेटपछि घानाका अन्तर्राष्ट्रिय खेलाडी एन्टोनी सेमेनियोले एक गोल गर्दै बर्नमाउथलाई पहिलो हाफको ४५ मिनेटमै तीनै गोलको अग्रता दिलाएका थिए।
बोर्नमाउथका सहायक प्रशिक्षक टोमी एल्फिकले भने, 'इभानिलसनबाट हामीले यस्तै खेलको अपेक्षा गरेका थियौं। त्यसैले म उनको लागि खुसी छु।'
बर्नमाउथ ११ औं स्थानमा उक्लिएको छ। साउथह्याम्पटनका प्रशिक्षक रसेल मार्टिनले भने, 'मैले हाम्रो टोलीलाई चिनेको थिइनँ। त्यहाँ कुनै आक्रामकता थिएन। मलाई यो एक बिट मन परेन।'