काठमाडौं। एन्फा महिला लिगअन्तर्गत विभागीय टोली नेपाल पुलिस क्लब र संकटा फुटबल क्लबबीचको रद्द भएको खेल बुधबार हुने भएको छ।
पहिलो चरणको अन्तिम खेलमा गत शनिबार पुलिस र संकटा भिड्ने तय थियो। तर, यो खेल वर्षाको कारण रद्द भयो। खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो १ बजे हुने भनिएको थियो।
तर, अर्को सूचना नआउँदासम्म खेल रद्द गरिएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी सूचना जारी गरेको थियो। यो खेल सोही मैदानमा बुधबार दिउँसो ३ बजे सुरु हुने एन्फाले सोमबार जानकारी दिएको हो।
आठ खेलबाट १८ अंक जोडेको पुलिस शीर्ष स्थानमा रहँदै सुपर लिगमा प्रवेश गरिसकेको छ। समान खेलमा ८ अंक रहेको संकटा भने प्रतियोगिताबाट बाहिरिसकेको छ। यो खेल दुवै टोलीका लागि जितसहित प्रतियोगिता अन्त्य गर्ने बहाना मात्रै हुनेछ।