काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) को गभर्निङ काउन्सिलले कम्तीमा पाँच क्यालेन्डर वर्षमा अन्तर्राष्ट्रिय खेल नखेलेका भारतीय खेलाडीलाई 'अनक्याप्ड' मान्ने निर्णय गरेको छ।
यद्यपि, यो कदम चेन्नई सुपर किंग्सले आफ्ना स्टार क्रिकेटर महेन्द्र सिंह धोनीलाई रिटेन गर्न सकोस् भनेर लिइएको विश्वास गरिएको छ, जसले पछिल्लो पटक २०१९ को एकदिवसीय विश्वकप सेमिफाइनलमा देशका लागि खेलेका थिए।
भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यदि कुनै भारतीय खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेट (टेस्ट म्याच, एकदिवसीय, ट्वान्टी–२० अन्तर्राष्ट्रिय) को सुरुआती ११ मा नखेलेको या बिसिसिआईको सेन्ट्रल कन्ट्र्याक्ट नभएको अवस्थामा 'अनक्याप्ड' (जसले अन्तर्राष्ट्रिय क्रिकेट खेलेको छैन) हुनेछ। '
गभर्निङ काउन्सिलको बैठकमा १० फ्रेन्चाइजीले आफ्नो अघिल्लो टिमबाट बढीमा ६ जना खेलाडी राख्न पाउने निर्णय गरिएको थियो, जसमा अक्सनको राइट टु म्याच (आरटीएम) कार्ड पनि समावेश छ।
एक 'अनक्याप्ड' खेलाडीलाई रिटेन गर्दा ४ करोड भारु खर्च हुन्छ, त्यसैले सीएसकेले धोनीलाई रिटेन गरे पनि यसले अक्सनका लागि धेरै बचत गर्न सक्छ। सन् २०२२ मा भएको अन्तिम अक्सनमा एउटा टिमले चार खेलाडीलाई रिटेन गर्न अनुमति दिएको थियो।