सिमरा । विशाल मेमोरियल गोल्डकप फुटबलको उपाधि जितेको २४ घण्टा नबित्दै विभागिय टोली त्रिभुवन आर्मी क्लबले आइतबार सिमरा गोल्डकपको क्वाटरफाइनलमा अर्काे विभागीय टिम शसस्त्र प्रहरी बल एपीएफ क्लबको सामना गर्दैछ ।
विरगन्जमा शनिबार भएको विशाल मेमोरियल गोल्डकपको फाइनलमा हिमालयन शेर्पालाई सडन डेथमा ६–५ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि जितेको थियो । तर, गोल्डकपको व्यस्त तालिकाको कारण फाइनल खेलेको भोलिपल्टै आर्मीले सिमरा गोल्डकपको क्वाटरफाइनलमा भिड्न लागेको हो ।
बाराको सिमरा रंगशालामा आर्मी र एपीएफबीचको खेल अपरान्ह २ बजे सुरुहुनेछ । आर्मीले प्रतियोगितामा बाइ पाएर क्वाटरफाइनलमा स्थान बनाएको थियो । यस्तै एपीएफले प्रिक्वाटरफाइनलमा विशाल मेमोरियल फाउण्डेसनलाई १–० गोलले पराजित गर्दै आर्मीसँगको भेट पक्का गरेको थियो ।
आर्मी र एपीएफबीचको विजेताले फाइनल प्रवेशको लागी आयोजक नव जन जागृति क्लब र मकवानपुर -११ बीचको विजेतासंग खेल्नेछ ।
काठमाडौंमा सम्पन्न पल्सर सहिद स्मारक ए डिभिजन लिगको भेटमा एपीएफले आर्मीलाई २–१ ले हराएको थियो । आर्मी लिगमा चौथो स्थान र एपीएफ पाचौँ स्थानमा रहेको थियो ।
नव जनजागृति क्लबको आयोजनामा भएको प्रतियोगितामा ए डिभिजन क्लब गरी १० टिमको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख नगद प्राप्त गर्नेछ ।