काठमाडौं। गुल्सनकुमार झा र दीपेन्द्रसिंह ऐरीको आक्रामक ब्याटिङसँगै नेपालले क्यानडा ट्वान्टी–२० त्रिकोणात्मक सिरिजमा ओमानलाई १७७ रनको विशाल लक्ष्य दिएको छ।
किङ सिटीमा ओमानका कप्तान अकीब इलियासले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए। पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको हो।
गुल्सनले सर्वाधिक ४० रन बनाए। अविजित रहेका उनले १७ बलमा समान तीन चौका र छक्का प्रहार गरे। दीपेन्द्रले भने पाँच बलमै १८ रन बनाए। यसक्रममा उनले एक चौका र दुई छक्का प्रहार गरे। उनी पनि अविजित रहे।
ओपनरद्वय अनिलकुमार साह र आसिफ शेखले समान २७ रन जोडे। कुशल मल्लले ३०, कुशल भुर्तेलले २० रननको योगदान दिँदा कप्तान रोहितकुमार पौडेल र देव खनालले समान दुई रन बनाए।
ओमानका कप्तान इलियासले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३२ रन खर्चिए। सकिल अहमेद, फैय्यज बट र जिशान मक्सूदको नाममा समान एक विकेट रह्यो।