काठमाडौं। भारत र बंगलादेशबीच कानपुरमा जारी दोस्रो टेस्ट तेस्रो दिनको खेल पनि एक बल नभई रद्द भएको छ। तेस्रो दिन बिहान पानी नपरेपनि मैदान खेलका लागि तयार हुन सकेन।
दिनको पहिलो निरीक्षण बिहान १० बजे भएको थियो। त्यसपछि मैदानको अवस्था हेरेर १२ बजे अर्को निरीक्षण गर्ने भनिएको थियो। दुईपटक निरीक्षणपछि पनि मैदान खेल्नका लागि तयार भएन। आज दुवै टोली मैदानमा समेत पुगेका थिएनन्।
दुई पटक मैदान निरीक्षण गरेपछि अम्पायरले दिनको तेस्रो निरीक्षण दिउँसो २ बजे गर्ने निर्णय गरे। तेस्रो पटक अम्पायर आउँदा मैदानमा हल्का घाम लागेको थियो। तर, आउटफिल्ड पूर्णरुपमा तयार भएको छैन। त्यसपछि अन्तिममा अम्पायरले तेस्रो दिनको खेल पनि रद्द गर्ने निर्णय गरेका थिए।